संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा ले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन प्रवर्द्धनप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आज आयोजित दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा बोल्दै उनले नेपाल सुरक्षित तथा मर्यादित आप्रवासनको पक्षमा दृढ रहेको बताएका हुन् । नेपाल प्रमुख श्रम आपूर्तिकर्ता मुलुक भएकाले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सरकार निरन्तर लागिरहेको उनले उल्लेख गरे ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले करिब ४० लाख नेपाली आप्रवासी श्रमिकले श्रम गन्तव्य मुलुकको अर्थतन्त्र र नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए । उनले विप्रेषण, सीप तथा ज्ञान हस्तान्तरणमार्फत आप्रवासी नेपालीले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको धारणा राखे ।
उनले भर्ती प्रणाली सुधार, लैङ्गिक उत्तरदायी आप्रवासन नीति, सीप विकास, मानव बेचबिखन नियन्त्रण, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सामाजिक सुरक्षाको व्यवस्था लगायतका क्षेत्रमा नेपालले विभिन्न सुधारका पहल अघि बढाएको जानकारी दिए । साथै भर्ती सेवाको ‘डिजिटल’ प्रणालीकरणलाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।
राजदूत थापाले अनियमित आप्रवासन, मानव बेचबिखन, श्रम शोषण तथा समन्वय अभावजस्ता चुनौती अझै कायम रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र साझा जिम्मेवारी आवश्यक रहेकोमा जोड दिए ।
















