टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि केही समय अवरुद्ध त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको अवरोधपछि पुनः सञ्चालनमा आएको छ ।

आज बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा टायर विस्फोट भएर आगलागी भएपछि विमानस्थलमा उडान तथा अवतरण सेवा प्रभावित भएको थियो ।

जहाजमा आगलागी देखिएपछि सुरक्षा सतर्कता अपनाउँदै विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । त्यसपछि दमकल र प्राविधिक टोलीले आगो नियन्त्रणमा लिएर जहाजलाई सुरक्षित अवस्थामा ल्याएका थिए ।

विमानस्थल बन्द हुँदा विभिन्न अन्तर्राष्ट्रिय उडान प्रभावित भएका थिए । एयर अरेबियाको जहाजले काठमाडौंको आकाशमा नौ फन्का लगाएको थियो भने फ्लाइ दुबई, एयर इन्डिया, कतार एयरवेज तथा नेपाल एयरलाइन्सका जहाजहरू पनि केही समय आकाशमै होल्डमा राखिएका थिए ।

विमानस्थल स्रोतका अनुसार अहिले अवस्था सामान्य बनेको छ भने उडान तथा अवतरण सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ ।