सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको हो। रिहा गर्न आदेश दिए पनि पाण्डेले विदेश जान अदालतबाट अनुमति लिनुपर्नेछ।
उनले रोजेको वरिष्ठ अधिवक्ताको रोहबरमा आवश्यक परेका बखत उपस्थित हुने सर्तमा थुनामुक्त गरिएको हो।
स्मार्ट टेलिकमको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई वैशाख २९ गते पक्राउ गरेको थियो। उनलाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी निरु दाहालले वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
















