प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरे। युवाको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको उनको आरोप छ।
‘निर्वाचनबाट आएको पाँच वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन,’ उनले भने, ‘जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन्।’
सरकारलाई जनताको सेवकका रूपमा परिभाषित गर्दै उनले सरकारलाई अभिभावक मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए। ‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन,’ उनले भने।
गरिब, सुकुम्वासी, मजदूर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको उनको आरोप थियो।
‘२००७ सालदेखिको निरन्तर संघर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, संघीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैँ उभिनेछ। यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ,’ परियारले भने।
अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि यो तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताए। अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर सङ्घर्ष जारी राख्ने उनको भनाइ थियो।













