अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण रोकिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले कतारका अमीर शेख तमीम बिन हमद अल थानी, साउदी अरबका युवराज मोहम्मद बिन सलमान र संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति मोहम्मद बिन जायद अल नहयानको आग्रहपछि सैन्य कारबाही स्थगित गरिएको जानकारी दिएका हुन् ।
ट्रम्पले इरानसँग गम्भीर वार्ता जारी रहेको भन्दै ती नेताहरूले तत्काल आक्रमण नगर्न अनुरोध गरेको उल्लेख गरेका छन् । उनले ती नेताहरूको सम्मानस्वरूप अमेरिकी रक्षामन्त्री पिट हेगसेथ, संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल डेनियल केन तथा अमेरिकी सेनालाई मंगलबारको सम्भावित आक्रमण रोक्न निर्देशन दिएको बताएका छन् ।
यद्यपि, स्वीकार्य सम्झौता नभए इरानमाथि तुरुन्तै सैन्य आक्रमण गर्न तयार रहन सेनालाई निर्देशन दिएको ट्रम्पको भनाइ छ ।
हालैका दिनमा घरेलु लोकप्रियतामा गिरावट देखिएका ट्रम्पले इरानमाथि पुनः सैन्य कारबाहीको तयारी गरिरहेका बेला अमेरिकी जनमत भने युद्धको पक्षमा नरहेको देखिएको छ ।
न्युयोर्क टाइम्स र सिएनएनले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार करिब ६४ प्रतिशत अमेरिकी मतदाताले इरानविरुद्ध युद्धमा जानु गलत निर्णय हुने बताएका छन् । बीबीसीका अनुसार उक्त जनमतले रिपब्लिकन पार्टीलाई आगामी मध्यावधि चुनावमा थप चुनौती सिर्जना गर्न सक्ने संकेत गरेको छ ।















