कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् ।
टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकैखेती गरेका छन् । उनी यसवर्ष मकैको दुई बाली लिने तयारीमा छन् । केराखेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसकेका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ ।
धामीले साढे ६ बिघा जमिनमा केराखेतीसँगै मकैखेती गरेका छन् । एकपटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसकेका उनको बारीमा फेरि मकैखेती फष्टाएको छ । “तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्ने भएकाले खपत राम्रै भयो”, उनी भन्छन्, “अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु । यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ ।”
लामो समयदेखि २१ विघामा केराखेती गरिरहेका धामीले गतवर्ष पनि केराखेती भित्र खुर्सानी र तोरी खेती गरेका थिए । केराखेती गरिरहेका उनले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गरेका छन् । विगतमा असारमा केरा रोप्ने गरेका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोपे ।
“असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ । त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु”, धामी भन्छन्, “मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु । यसरी खेती गर्दा वर्खामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ । विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ ।”
टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोपे । केरा खेतीको बीचमा असोज महिनामा उनले मकै र तोरी खेती गरे । “एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाबाया कमै र बीचमा तोरी छरे”, उनी भन्छन्, ‘‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो । ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ ।”
बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ । उनको बारीमा अहिले केरा राम्रो फस्टाएको छ । “केरा खेतीबाट पनि करिब रु ५ लाखसम्म आम्दानी लिन सकिन्छ”, उनी भन्छन्, “मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ । मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ ।”
बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन् ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान स¬ङ्कायका प्रमुख डा विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउँछन् । “एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ । त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ”, उनी भन्छन्, “मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ । तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ ।”
डा अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमीनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन ।
“एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ । थरिथरिका बाली लगाउँदा फरक फरक किसिमका कीरा र रोग लाग्दैन । किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा अधिकारी भन्छन्, “कोशेबाली मिसाएर लगाएमा बायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ । किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ ।”
कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन् । यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ । केराको उत्पादन लिन एकवर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ । फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ । बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमीनमा पानी वाष्पिकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ । मल, जल सबै संरक्षण हुन्छ । “यसका फाइदा नै फाइदा छन्”, डा अधिकारीले भने ।















