शेरबहादुर देउवालाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Image

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौं जिल्ला अदालतबाट चैत २४ गते लिइएको पक्राउ पूर्जीको आधारमा पक्राउ नगर्न भनिएको हो। उक्त पक्राउ पूर्जी निष्क्रिय भइसकेको अवस्था देखाउँदै सर्वोच्चले उक्त आदेश दिएको हो।

‘… सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट चैत २४ मा पक्राउ पुर्जी जारी गर्न दिइएको अनुमति स्वत: निष्क्रिय हुने देखियो,’ सर्वोच्चले भनेको छ।

गत वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी लउन्डरिङ) निवारण ऐन २०६४ लाई संशोधन गर्न बनेको अध्यादेश आएको थियो।