राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित विभिन्न व्यक्तिहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा कार्कीले दिएको अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित बनाएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।
जेनजी आन्दोलनका बेला कार्कीले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिको सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा व्यापक आलोचना भएको थियो । पछि उनलाई जाँचबुझ आयोगको अध्यक्ष बनाइएपछि आन्दोलनबारे पूर्वधारणा बनाइसकेका व्यक्तिलाई जिम्मेवारी दिइएको भन्दै राजनीतिक वृत्तबाट समेत प्रश्न उठाइएको थियो ।मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री सुधन गुरूङ, ओमप्रकाश अर्याल, सांसदहरू हरि ढकाल, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की तथा डा. तोषिमा कार्कीलगायतको भूमिकाबारे पनि अनुसन्धान गर्न सुझाव दिएको छ ।आयोगद्वारा गठित लिली थापा नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा ती व्यक्तिहरूले आन्दोलन भड्काउन भूमिका खेले वा नखेलेको भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा ती व्यक्तिहरूले प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा गरेका गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा उनीहरूको संलग्नता रहेको वा नरहेको विषयमा निष्पक्ष छानबिन गर्न भनिएको छ ।आयोगले उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित वा उत्तेजित भएको हो वा होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको हो वा होइन भन्ने विषयमा समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ ।
साथै, अनुसन्धान प्रक्रियामा सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्न र दोषी ठहरिए कानुनी कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।
















