टिकटकर तुलसा ललितपुरको प्रहरी हिरासतमा, भोली अदालतमा पेस गर्ने तयारी

Image

सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा फरार रहेकी तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन् । प्रहरीको इन्टरपोल शाखाको समन्वयमा थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई गएराति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा भने उनी ‘तुलसा’ नामबाट विभिन्न गतिविधि सञ्चालन गर्दै आएकी थिइन्।

प्रहरीका अनुसार अधिकारीलाई राति करिब १ बजे विमानस्थलबाट जिम्मा लिइएको थियो। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइने तयारी गरिएको छ।

अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। उनीमाथि ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप छ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाको जाहेरीपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा अधिकारीको बैंक खातामा ठूलो रकमको कारोबार भएको विवरण फेला परेपछि प्रहरीले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान विस्तार गरेको थियो।

प्रहरीले आपराधिक लाभ, ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो।

अनुसन्धानका क्रममा अधिकारी चीनमा रहेको निष्कर्ष प्रहरीले निकालेको थियो। चीनमा रहँदा पनि उनले टिकटकमार्फत ब्ल्याकमेलिङ गतिविधि सञ्चालन गरेको देखिएपछि प्रहरीले इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ।प्रहरीले अब उनलाई अदालतमा उपस्थित गराई थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।