राहुल गान्धी र अरविन्द केजरिवालको दाबी : अब मोदी सरकार ढल्छ

Image

भारतमा जारी विरोध प्रदर्शनका बीच भारतीय कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहोर्‍याएका छन्।

राहुल गान्धीले संसद्को केन्द्रीय हलमा दिएको भाषणको भिडियो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ज्ञानेश कुमार र वर्तमान सरकार परिवर्तन हुने दाबी गरेका छन्। उनले लेखेका छन्, ‘ज्ञानेश कुमार जानेछन्। यो सरकार जानेछ। त्यसपछि लोकतन्त्रको मर्मत सुरु हुनेछ।’

यस्तै, केजरीवालले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतमा लोकतन्त्रको अवस्थामाथि प्रश्न उठाएका छन्। उनले वर्तमान अवस्थालाई संकटकालभन्दा पनि खराब भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको शासनमा देश तानाशाहीको अवस्थामा पुगेको आरोप लगाएका छन्।

विमानबाट ओर्लनेबित्तिकै मानिसहरूलाई पक्राउ गरिनुले यसअघि कहिल्यै नदेखिएको डरको अवस्था देखाएको उनको भनाइ छ।

केजरीवालले प्रधानमन्त्री मोदीले चुनावमा मत चोरी गरेर जितेको आरोप लगाउँदै आफ्नो राजनीतिक छल जोगाउन लोकतन्त्रलाई कुल्चिन खोजेको दाबी गरेका छन्। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र प्रधानमन्त्री मोदी दुवैले पद छाड्नुपर्ने बताएका छन्।

यसैबीच, आन्दोलन जारी रहेकै बेला शनिबार बिहान सीजेपीका संस्थापक अभिजित दीपके, सहसंयोजक सौरभ दास र आशुतोष राँकालाई प्रहरीले दिल्ली विमानस्थलबाटै पक्राउ गरेको छ।

भारतमा निर्वाचन प्रक्रिया र लोकतन्त्रको अवस्थालाई लिएर उठिरहेका प्रश्न तथा विरोध प्रदर्शनका बीच विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्तको राजीनामाको मागलाई पुनः जोड दिएका हुन्।