दोलखामा वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अब शैलुङ गाउँपालिकाको कालापानी क्षेत्रबाट सुरु हुने भएको छ। डिभिजन वन कार्यालय दोलखाले अदालतको आदेश प्राप्त हुने बित्तिकै अतिक्रमित संरचना हटाउन डोजर परिचालन गर्ने तयारी पूरा भएको जनाएको छ।
नेपाल पत्रकार महासंघ दोलखाले बुधबार चरिकोटमा आयोजना गरेको वन तथा वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले वन अतिक्रमण नियन्त्रण र सार्वजनिक जग्गा संरक्षणका लागि अब ढिलाइ नगरी अभियान अघि बढाइने बताएका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले शैलुङ गाउँपालिकाको कालापानी क्षेत्रमा भएको वन अतिक्रमणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र केही दिनभित्र फैसला आउने अपेक्षा गरिएको बताए। अदालतको आदेश प्राप्त भएलगत्तै अतिक्रमित संरचना हटाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।“कालापानीबाट अतिक्रमण हटाउने अभियान सुरु हुनेछ। अदालतको आदेश आउने बित्तिकै कार्यान्वयनमा जान्छौँ,” रेग्मीले भने।
डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखा जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामा गरी ४४.८४ हेक्टर सार्वजनिक तथा वन क्षेत्र अतिक्रमण भएको छ। त्यसमध्ये ५.५८ हेक्टर क्षेत्र व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण गरिएको छ भने ३९.२६ हेक्टर क्षेत्र संस्थागत रूपमा अतिक्रमण भएको देखिएको छ।
कार्यालयका अनुसार जिल्लामा व्यक्तिगतभन्दा संस्थागत रूपमा वन तथा सार्वजनिक जग्गा अतिक्रमणको समस्या बढी देखिएको छ। यसले वन संरक्षण र वातावरणीय सन्तुलनमा चुनौती थपिएको सरोकारवालाहरूको भनाइ छ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वन संरक्षण, वातावरणीय सन्तुलन, वन अतिक्रमण नियन्त्रण तथा सार्वजनिक जग्गा संरक्षणका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा वन तथा वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, सञ्चारमाध्यम र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
जिल्लाभर सार्वजनिक तथा वन क्षेत्र फिर्ता गराउने विषयमा बहस भइरहेका बेला डिभिजन वन कार्यालयको पछिल्लो तयारीलाई वन अतिक्रमणविरुद्धको कडा कदमका रूपमा हेरिएको छ। कार्यालयले अदालतको आदेशपछि कालापानीबाट अभियान सुरु गरी अन्य अतिक्रमित क्षेत्रहरूमा समेत कारबाहीलाई तीव्रता दिने संकेत दिएको छ।
















