मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याइएका ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।गलत कागजातको प्रयोग गरी सवारीसाधन भित्र्याइएको सूचनाका आधारमा ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार हाल नियन्त्रणमा रहेका सवारीसाधनका कागजातहरूको भन्सार कार्यालयका कर्मचारीमार्फत विस्तृत परीक्षण भइरहेको छ। प्रारम्भिक रूपमा कर छलीको उद्देश्यले पुराना मिति देखाइएका वा गलत विवरण समावेश भएका कागजात प्रयोग गरिएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ।यता व्यवसायीहरूले भने ती विद्युतीय सवारीसाधन सरकारले हालै कर वृद्धि गर्नुअघि नै आयात प्रक्रियामा ल्याइएकाले कुनै अनियमितता नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार गाडीहरू कर बढ्नुअघि नै नेपाल भित्र्याइएका थिए र सोहीअनुसार आवश्यक कागजात तयार गरिएको हो।
तर सशस्त्र प्रहरीले करको दायित्वबाट जोगिन पूर्वमितिका कागजात तयार पारिएको हुनसक्ने आशंका गर्दै त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको जनाएको छ।स्रोतका अनुसार चीनबाट आयात गरिएका ती सवारीसाधन म्याग्दीको सिमानासम्म आइपुगेका बेला बुधबार राति नियन्त्रणमा लिइएको थियो।घटनाबारे थप अनुसन्धान जारी रहेको तथा कागजात परीक्षणको प्रतिवेदन आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।














