रोल्पामा बोलेरो जिप दुर्घटना, तीन जनाको मृत्यु

Image

रोल्पामा बिहीबार बिहान भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहान करिब ८ बजे माडी गाउँपालिका–२ घर्ती गाउँको व्याङखोलास्थित सडकबाट बोलेरो जिप करिब ६०० मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।दुर्घटनाग्रस्त सवारीसाधन भीरको तल अड्किएको अवस्थामा रहेकाले गाडीको नम्बर समेत तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्चकुमार बाखु सहितको टोली घटनास्थलतर्फ गएको छ।प्रहरीका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्ता पाता, पाइपलगायत निर्माण सामग्री फेला परेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।