शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा चार घण्टा विद्युत् अवरुद्ध हुने

Image

नेपाल विद्युत् प्राधिकरणले शनिबार (जेठ २३ गते) काठमाडौं र ललितपुरका विभिन्न ९८ स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।प्राधिकरणअन्तर्गतको १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले जारी गरेको सूचनाअनुसार स्युचाटार र टेकु सबस्टेशनअन्तर्गतका विभिन्न वितरण केन्द्रमा मर्मत तथा स्तरोन्नतिका काम गर्न बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत ५३, कीर्तिपुर वितरण केन्द्रअन्तर्गत ११, रत्नपार्क वितरण केन्द्रअन्तर्गत २० तथा पुल्चोक वितरण केन्द्रअन्तर्गत १४ स्थानमा विद्युत् सेवा प्रभावित हुनेछ।प्राधिकरणले १३२ केभी स्युचाटार सबस्टेशनको बसलाई सटडाउनमा राखेर मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्न लागिएको जनाएको छ। यस अवधिमा स्युचाटार र टेकु सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीअन्तर्गतका फिडरहरू प्रभावित हुनेछन्।

विद्युत् आपूर्ति अवरुद्ध हुने प्रमुख स्थानहरूमा कलंकी, बल्खु, कुलेश्वर, नैकाप, सतुङ्गल, स्वयम्भू, छाउनी, रविभवन, कीर्तिपुर, चोभार, त्रिभुवन विश्वविद्यालय परिसर, न्यूरोड, धरहरा, सुन्धारा, असन, इन्द्रचोक, टेकु, थापाथली, माइतीघर, पुल्चोक, झम्सीखेल, सानेपा, कुपण्डोल, भैंसेपाटी, नख्खु, बागडोल लगायत क्षेत्र रहेका छन्।प्राधिकरणले सटडाउन अवधिमा काठमाडौं उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने जनाएको छ। साथै मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ।

निर्धारित समयभित्र सम्पूर्ण कार्य सम्पन्न गर्न अधिकतम प्रयास गरिने जनाउँदै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।