उत्तरी नाइजरको सहारा मरुभूमिको दुर्गम क्षेत्रमा पानी पिउन नपाएर ५० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार इद अल-अधा मनाएर मालीबाट फर्किंदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर र अल्जेरियाको बिचमा अलपत्र परेका थिए । त्यसपछि पानी सकिएर प्यासले उनीहरूको मृत्यु भएको बीबीसी उर्दुले उल्लेख गरेको छ ।
यस क्षेत्रमा अवस्थित अगाडेजका गभर्नरले भने, ‘यात्रुहरू खतरनाक क्षेत्रमा फसेका थिए, जहाँ अत्यधिक गर्मी र सुविधाको अभावले बाँच्न अत्यन्तै गाह्रो बनायो ।’ अधिकारीहरूका अनुसार फसेका यात्रुमध्ये दुई जना मात्र बाँचेका छन् ।
चालक र यात्रुले गाडी मर्मत गर्न धेरै दिनसम्म बारम्बार प्रयास गरे, तर सफल भएनन् । मृतकहरू सबै नाइजेरियन नागरिक थिए । स्थानीय अधिकारीहरूले पठाएको राहत टोलीले उनीहरूलाई सामूहिक चिहानमा गाडेको थियो ।














