परराष्ट्रमन्त्रीसँगको भेटमा भारतीय विदेशमन्त्रीले भने– खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्छौं

Image

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँग खुला सीमाना रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताएका छन् । नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको प्रतिनिधिमण्डलको टोलीसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री डा. जयशंकरले यस्तो बताएका हुन् । स्टार्टअप्, एआई , सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरूमा सँगै अघि बढ्ने अवसर भएको पनि उनले सो क्रममा भने ।

भेटवार्ताको सुरुवातमा आफ्नो मन्तव्य राख्दै उनले भनेका छन्, ‘हामीसँग यस सम्बन्धलाई स्टार्टअप्, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरू अगाडि बढाउने अवसर पनि छ । हाम्रो लामो र विशिष्ट रूपमा खुला सिमानामा सुरक्षा कायम राख्न हामी मिलेर काम गर्छौं ।’

सो क्रममा उनले नेपाल–भारत सधैं एक अर्काको साथमा उभिएको स्मरण गरे । पश्चिम एसियामा जारी संकटको समयमा पनि नेपालमा इन्धन आपूर्ति निरन्तर गराइरहेको उनले सो क्रममा उल्लेख गरे ।

हिजोमात्रै भारत भ्रमण सकेर फर्किएका रास्वपा सभापति रवि लामिछानेको भ्रमण पनि सम्बन्ध उत्कृष्ट रहेको प्रमाणित गरेको जयशंकरको भनाइ थियो ।

नेपाल सरकारले तय गरेका उद्देश्य र भारतले छिमेकी देशहरूका लागि चालेका कदमहरूबीच आपसी विश्वास कायम राखेर अघि बढ्ने उनको भनाइ थियो ।