कोहलपुरका विद्यालय तीन दिन बन्द

Image

 बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिका क्षेत्रका विद्यालय सोमबार (जेठ २५)देखि तीन दिनसम्मलाई बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।

“वर्षा भएर गर्मी घट्ने अवस्था आए तीन दिन मात्रै बिदा हुन्छ, नभए थप दुई दिन बिदा हुनसक्छ,” उनले भने ।

उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख मिजारले यही जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक ३३ र संस्थागत ५० विद्यालयमा नियमित पठनपाठन स्थगन गरिएको बताए । विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा गरिएको उनको भनाइ छ ।