‘स्ट्रेट अफ होर्मुज’नजिक अमेरिकी हेलिकोप्टर खस्यो

Image

‘स्ट्रेट अफ होर्मुज’ नजिक सोमबार अमेरिकी सेनाको एउटा ‘अपाचे हेलिकोप्टर’ खसेको छ । घटनामा हेलिकोप्टरमा सवार दुवै चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको ‘द न्युयोर्क टाइम्स’को समाचारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुष्टि गरेका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै उनले दुर्घटनामा परेका पाइलटहरू सकुशल रहेको बताएका हुन् । “पाइलटहरू सकुशल छन् । हामी भोलि यसबारे एउटा प्रतिवेदन जारी गर्नेछौँ, तर पाइलटहरू ठिक छन्,” ट्रम्पले भने ।

यसअघि ‘द न्युयोर्क टाइम्स’ले उक्त लडाकु हेलिकोप्टर दुर्घटनाग्रस्त भएको समाचार प्रकाशित गरेको थियो । तर, हेलिकोप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

दुई हप्ताभित्र इरानमाथि ‘पूर्ण विजय’ घोषणा गर्ने 
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्र इरानमाथि ‘पूर्ण विजय’ घोषणा गर्ने बताएका छन् । उनको यो भनाइ इरान र इजरायलबीच गत अप्रिलमा लागु भएको युद्धविरामपछि उत्पन्न सबैभन्दा गम्भीर सैन्य तनावलाई रोक्न सहमति भएको केही घण्टापछि आएको हो ।

“हामी एक अत्यन्त बलियो टोलीका रूपमा अघि बढिरहेका छौँ । मलाई लाग्छ, हामीले त्यो लडाइँ जितिरहेका छौँ । तर, अबको दुई हप्ताभित्र जब हामी पूर्ण विजयको घोषणा गर्नेछौँ, तब मात्रै तपाईंहरूले वास्तवमै यो लडाइँ जितिएको देख्नुहुनेछ,” आफ्ना निकट रिपब्लिकन सहयोगी सिनेटर लिन्डसे ग्राहमको समर्थनमा आयोजित एक ‘टेलिर्‍याली’ कार्यक्रममा ट्रम्पले भने ।

उनले थपे, “यो पूर्ण विजय हुनेछ । त्यो धेरै चाँडै हुनेछ र तेलको मूल्य उल्लेखनीय रूपमा घट्नेछ ।”

यसअघि सोमबार इरानले इजरायलमाथिका आफ्ना आक्रमणहरू समाप्त भएको घोषणा गरेको थियो । तर, लेबनानमा इजरायली सैन्य अभियान जारी रहेमा कडा र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको थियो ।