जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलियो, छोराले भने– ‘धेरै पीडामा हुनुहुन्छ’

Image

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिरसम्म फैलिएको उनका छोरा हन्टर बाइडेनले बताएका छन्।

बीबीसीको ‘न्युजनाइट’ कार्यक्रममा अन्तर्वार्ता दिँदै हन्टरले क्यान्सर हड्डी र त्यसबाहिरका भागमा समेत फैलिएको र यसका कारण बाइडेन निकै पीडामा रहेको बताएका हुन्।

हन्टरले भने, “क्यान्सर उहाँको हड्डी र बाहिरको भागमा पनि फैलिएको छ। यो निकै पीडादायी छ र यसले धेरै कमजोर पार्नेछ।”

बाइडेनले ह्वाइट हाउस छाडेको करिब चार महिनापछि सन् २०२५ मेमा आफूलाई प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए। त्यतिबेला उनले क्यान्सर हड्डीमा समेत फैलिसकेको बताएका थिए।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन जितेर अमेरिकाको ४६औँ राष्ट्रपति बनेका बाइडेन सन् २०२१ देखि २०२५ सम्म पदमा रहेका थिए। राष्ट्रपतिको कार्यकालमै उनको स्वास्थ्य अवस्थालाई लिएर पटक–पटक प्रश्न उठ्दै आएको थियो।

हाल ८३ वर्षका बाइडेनको स्वास्थ्यबारे कुरा गर्दा हन्टर अन्तर्वार्ताका क्रममा पटक–पटक भावुक भएका थिए। उनले आफ्ना बुबा अझै पनि परिवारको केन्द्रमा रहेको बताउँदै आफूहरूका लागि उनी असल बुबा, पति र हजुरबुबा रहेको बताएका छन्।