फिलिपिन्सको दक्षिणी सहर जनरल सान्तोसमा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि राहत तथा उद्धार कार्य निरन्तर जारी छ ।अधिकारीहरूका अनुसार हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी मानिस घाइते भएका छन् ।
क्षेत्रीय अग्नि नियन्त्रण अधिकारी एडगर तनाओवानले स्क्यानरमार्फत गरिएको खोजीमा अहिलेसम्म भग्नावशेषमा फसेका अन्य व्यक्तिहरू जीवित रहेको कुनै संकेत प्राप्त नभएको बताएका छन् ।
भूकम्पको केन्द्रविन्दु सारङ्गानी प्रान्तको तटबाट करिब २० किलोमिटर टाढा समुद्रमा रहेको थियो । यसको धक्का सम्पूर्ण मिन्डानाओ क्षेत्र तथा इन्डोनेसियाको सुलावेसी टापुसम्म महसुस गरिएको थियो ।
भूकम्पका कारण धेरै क्षेत्रमा भवनहरू क्षतिग्रस्त भएका छन् । बिजुली तथा खानेपानीको आपूर्ति अवरुद्ध भएको छ भने विद्यालय र अस्पतालहरूमा समेत क्षति पुगेको छ । लगातार आइरहेका पराकम्पका कारण हजारौँ मानिस राहत शिविर तथा अस्थायी टेन्टहरूमा रात बिताउन बाध्य भएका छन् ।
















