मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि तीव्र बनेको छ। अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा हवाई हमला गरेपछि इरानले जवाफी कारबाहीस्वरूप बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा ‘फिफ्थ फ्लिट’ लगायत विभिन्न अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन हमला गरेको दाबी गरेको छ।विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले बहराइनस्थित फिफ्थ फ्लिट, जोर्डनको सैन्य अड्डासहित मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य केन्द्रहरूमा २१ पटक ड्रोन आक्रमण गरेको जनाएको छ।
फिफ्थ फ्लिट मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसेनाको प्रमुख कमान्ड सेन्टर मानिन्छ, जहाँ करिब ९ हजार अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ। कतारी सञ्चारमाध्यम अल जजिरा का अनुसार सम्भावित ड्रोन हमलाको चेतावनीपछि उक्त अड्डामा साइरन बजाइएको थियो भने हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारिएको थियो।
तर अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको आक्रमणसम्बन्धी दाबीलाई अस्वीकार गर्दै त्यसलाई झुटो प्रचार भनेको छ। हालसम्म उक्त आक्रमणबाट कुनै क्षति पुगेको वा नपुगेकोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले पुनः हमला गरे त्यसको जवाफ अझ कडा र शक्तिशाली हुने चेतावनी दिएको छ।
यसअघि मंगलबार साँझ अमेरिकी सेनाले हर्मुज जलमार्ग आसपासका इरानी सैन्य संरचनामाथि हवाई हमला गरेको थियो। अमेरिकी अनलाइन सञ्चारमाध्यम एक्सियस का अनुसार केश्म टापु, बन्दर अब्बास, जास्क क्षेत्र तथा सिरिक बन्दरगाहस्थित इरानी हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई कम्तीमा तीन चरणमा निशाना बनाइएको थियो।बुधबार बिहान सेन्टकमले उक्त कारबाहीलाई “आत्मरक्षाका लागि गरिएको सीमित हमला” भन्दै तत्कालका लागि अभियान समाप्त भएको घोषणा गरेको जनाएको छ।
तनाव बढ्नुको अर्को कारण मंगलबार बिहान हर्मुज नजिक अमेरिकी अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त हुनु पनि हो। अमेरिकी अधिकारीहरूका अनुसार इरानी ड्रोनको प्रहारपछि हेलिकप्टर ओमानको तटीय क्षेत्रमा खसेको थियो। दुर्घटनापछि अमेरिकी ड्रोनबोटमार्फत चालक दलका दुवै सदस्यलाई सुरक्षित उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
अमेरिकी हेलिकप्टरमाथिको आक्रमण र त्यसपछि अमेरिकाले इरानी सैन्य संरचनामाथि गरेको हवाई हमलापछि दुवै देशबीच प्रत्यक्ष सैन्य टकरावको अवस्था पुनः देखिएको हो।लगातार बढ्दो तनावका कारण क्षेत्रीय सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको छ। विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलमार्गमा कच्चा तेल तथा प्राकृतिक ग्यास बोकेका जहाजहरूको आवतजावत प्रभावित हुन थालेको छ। यसले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा समेत असर पार्ने चिन्ता बढाएको छ।













