सङ्घीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले प्रमुख विपक्षी दलका नेताहरूसँग छलफल थालेका छन्।सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली सहितका नेताहरूसँग छलफल गरेका हुन्।
छलफल संसद् भवनमै जारी कांग्रेस संसदीय दलको बैठकका बीचमा भएको हो। संसद् सञ्चालनमा देखिएको अवरोध समाधान गर्ने सम्भावित सहमतिका विषयमा अनौपचारिक संवाद अघि बढाइएको बताइएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। सोही विवादका कारण पछिल्ला दिनहरूमा संसद् बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
छलफललाई राजनीतिक गतिरोध अन्त्यतर्फको प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ। यद्यपि, पक्ष–विपक्षबीच ठोस सहमति जुट्ने वा नजुट्ने विषय अझै स्पष्ट भएको छैन।














