अमेरिकी सैन्य अखडामा इरानको आक्रमण

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप ‘कडा प्रहार’ गर्ने चेतावनी दिएसँगै अमेरिका र इरानबीचको सैन्य तनाव उत्कर्षमा पुगेको छ। अमेरिकाले लगातार दोस्रो दिन इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिशोधस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार, राष्ट्रपति ट्रम्पले इरानले युद्ध अन्त्यका लागि सम्झौता गर्न अत्यधिक ढिलाइ गरेको टिप्पणी गरेपछि अमेरिकी सेनाले रातभर ‘आत्मरक्षात्मक स्ट्राइक’ सञ्चालन गरेको हो। त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इरानले अघिल्लो दिन पनि यिनै अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको जनाएको थियो। पछिल्ला दिनहरूमा दुवै पक्षबाट भएका श्रृंखलाबद्ध आक्रमणहरूले गत अप्रिलमा भएको कमजोर युद्धविरामलाई थप संकटमा पारेका छन्।

पछिल्लो अमेरिकी आक्रमणपछि इरानका दक्षिणी क्षेत्र तथा हर्मुजको जलडमरू नजिक शक्तिशाली विस्फोटका आवाज सुनिएको बताइएको छ। यसअघि अमेरिकी सेनाले सोही क्षेत्रमा रहेका इरानी वायु रक्षा प्रणाली, राडार तथा अन्य सैन्य संरचनाहरूलाई निशाना बनाएको थियो।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज हुँदै गुडिरहेका दुई तेल ट्यांकरमाथि पनि आक्रमण गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले उक्त जलमार्ग सबै प्रकारका जहाजका लागि बन्द गरिएको दाबी गरेका छन्। तर अमेरिकी सेन्टकमले भने व्यापारिक जहाजहरू नियमित रूपमा आवतजावत गरिरहेको बताउँदै इरानको दाबी अस्वीकार गरेको छ।

जलमार्ग बन्द भएको र तेल ट्यांकरमाथि आक्रमण भएको समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य करिब २ प्रतिशतले बढेर प्रतिव्यारेल ९५ अमेरिकी डलर नाघेको छ।

अमेरिकाले पछिल्लो आक्रमण गर्नुभन्दा केही घण्टाअघि राष्ट्रपति ट्रम्पले “हामीले हिजो कडा प्रहार गर्‍यौं, आज फेरि प्रहार गर्नेछौं” भन्दै इरानलाई चेतावनी दिएका थिए। उनले वार्ताका लागि इरानी नेतृत्वले अनावश्यक ढिलाइ गरेको आरोपसमेत लगाएका छन्।

अमेरिकी रक्षा सचिव पिट हेग्सेथले पनि इरानलाई सम्झौताको अवसर दिइएको भए पनि त्यसको सदुपयोग नभएकाले अब रणनीतिक महत्वका इरानी संरचनाहरू निशानामा पर्ने चेतावनी दिएका छन्।

यता, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश कुनै पनि दबाब वा धम्कीअगाडि नझुक्ने बताएका छन्। इरानी परराष्ट्र मन्त्रालयले अमेरिकाले विरोधाभासी सन्देशहरू पठाएर कूटनीतिक प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ।

अप्रिलमा दुई साताका लागि युद्धविराम भए पनि त्यसयता छिटफुट आक्रमणहरू जारी थिए। तर पछिल्लो समय वासिङ्टन र तेहरानबीचको वार्ता ठप्प भएपछि सैन्य गतिविधि तीव्र बन्दै गएको छ। यसै साता इरानको संलग्नता रहेको आरोप लगाइएको एक आक्रमणमा अमेरिकी हेलिकप्टर खसालिएपछि दुवै पक्षबीचको तनाव थप चर्किएको छ।