बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार गर्ने एक महिलाविरूद्ध सार्वजनिक कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । प्रहरीका अनुसार सरकारी जग्गामा निर्माण गरिएको संरचना हटाउने क्रममा ३६ वर्षीया सावित्रीकुमारी शाहीले प्रहरी चौकी सम्झना, बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिलकुमार चौधरीमाथि खुडा (दाउ) प्रहार गरेकी थिइन् ।
प्रहार हवल्दार चौधरीको टाउकोतर्फ लक्षित भए पनि उनले आफूलाई जोगाउँदा खुडा ढाड तथा काँध पछाडिको भागमा लागेर सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबाट चौधरीको शरीरमा घाउ र निलडाम परेको बताइएको छ । बैजनाथ गाउँपालिकाले अतिक्रमित जग्गा खाली गर्न पटक–पटक सूचना जारी गरे पनि अटेर भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोधमा प्रहरी टोली संरचना हटाउन खटिएको थियो।
सोही क्रममा आवेशमा आएर शाहीले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी प्रतित सिंह राठौरले जानकारी दिए । घटनालगत्तै प्रहरीले शाहीलाई घटनामा प्रयोग गरिएको दाउसहित नियन्त्रणमा लिएको थियो। हाल उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्मर पालका अनुसार शाहीलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइने तयारी गरिएको छ । उनीविरूद्ध सार्वजनिक कसुरअन्तर्गत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।















