रुसमा युक्रेनको सबैभन्दा ठूलो हमला

Image

युक्रेनले रुसको राजधानी मस्कोमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। आक्रमणपछि मस्कोस्थित ग्याजप्रोम नेफ्टको तेल प्रशोधन केन्द्रमा आगलागी हुँदा त्यहाँबाट कालो धुवाँको मुस्लो निस्किएको तस्वीर तथा भिडियोहरू सार्वजनिक भएका छन्।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चेतावनीपूर्ण शैलीमा भने, “यदि युक्रेन जल्यो भने, तपाईंको मस्को पनि जल्नेछ।”

मस्कोका मेयर सर्गेई सोब्यानिनले यो युद्ध सुरु भएयता राजधानीमा भएको सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमणमध्ये एक भएको बताएका छन्। उनका अनुसार आक्रमणको मुख्य निशाना मस्को तेल प्रशोधन केन्द्र थियो।

सार्वजनिक भएका भिडियो तथा तस्वीरहरूमा तेल प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ भने अग्नि नियन्त्रक
हेलिकप्टरहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

मस्को तेल प्रशोधन केन्द्रलाई अत्यन्त महत्वपूर्ण पूर्वाधार भएको बताइएको छ। उक्त केन्द्रले मस्को महानगर क्षेत्रमा प्रयोग हुने करिब ४० प्रतिशत पेट्रोल तथा अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ।

मस्को क्षेत्रका गभर्नरले ड्रोन आक्रमणका कारण आवासीय भवन, औद्योगिक संरचना तथा केही निजी घरहरूमा पनि क्षति पुगेको जानकारी दिएका छन्।

यद्यपि, क्षतिको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन। रुस–युक्रेन युद्ध चर्किँदै जाँदा दुवै पक्षले एकअर्काका रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाउन थालेका छन् ।