काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ७८२ जना सवारीचालक ट्राफिक कारबाहीमा परेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा चार लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयले मादकपदार्थ सेवन गरेर सवारी चलाउने ८३ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ७५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ८२ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११० जनालाई कारबाही गरेको जनाएको छ।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ६५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७१ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा सवारी चलाउने ६८ जना चालक पनि कारबाहीमा परेका छन्।
यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १४१ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक प्रहरीले सडक सुरक्षा र सवारी अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।















