सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

Image

इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

इरानी समाचार संस्था इर्नाका अनुसार मकरान तटमा तैनाथ एक सैनिक विभागका कर्मचारीहरू सवार मिनीबसलाई बिहीबार बिहान सशस्त्र समूहले आक्रमण गरेको हो। आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको जनाइएको छ। यद्यपि मृतक व्यक्ति सेनाका कर्मचारी भए वा नभएकोबारे इर्नाले स्पष्ट पारेको छैन।

यसै प्रान्तमा बिहीबार अर्को घटनामा प्रहरी गस्ती टोलीमाथि पनि सशस्त्र आक्रमण भएको छ। प्रान्तीय प्रहरीले इर्नामार्फत जारी गरेको वक्तव्यमा कारबाहीमा खटिएको प्रहरी गस्ती टोली ‘सशस्त्र गैरकानुनी व्यक्तिहरू’को आक्रमणमा परेको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने केही आक्रमणकारी घाइते भएर फरार भएका छन्।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तानमा लामो समयदेखि इरानी सुरक्षा बल र सशस्त्र समूह तथा लागूऔषध तस्करबीच झडप हुँदै आएको छ।

इरानका सबैभन्दा गरिब प्रान्तमध्ये एक सिस्तान–बलुचिस्तानमा ठूलो सङ्ख्यामा जातीय बलुच समुदायको बसोबास छ। उनीहरूमध्ये अधिकांश सुन्नी मुस्लिम छन्, जबकि इरान शिया मुस्लिम बहुल देश हो।