विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको ठूलो हिस्सा पूर्वाधार विकासका लागि विनियोजन गरेको छ । महानगरपालिकाले पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।
जसमा वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गरिनेछ । बहुवर्षीय तथा गौरवका आयोजनाका लागि १५ करोड र पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ
सामाजिक विकासतर्फ महानगरले २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ छुट्याएको छ ।
आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरेको छ । कृषि विकासमा ४६ लाख र पशु स्वास्थ्यतर्फ १ करोड ४२ लाख रुपैयाँ छुट्याइएको छ ।
महानगरले सुशासन र संस्थागत विकासका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ ।















