भारतबाट पेट्रोल लोड गरेर नेपाल आएको एक ट्यांकर बाटोबाटै हराएको घटना सार्वजनिक भएको छ। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि भारतको सिलिगुडीबाट ल्याइएको पेट्रोल बोकेको ट्यांकर डिपो नजिकैबाट हराएको र पछि बेवारिसे अवस्थामा फेला परेको हो।
नेपाल आयल निगमका अनुसार नवीन ढुवानी सेवाको ट्यांकर (१ ख ६१९०) ले २०८३ जेठ ६ गते इण्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी ल्याएको थियो। ट्यांकर जेठ ७ गते बिहान करिब ८ बजे विराटनगर डिपो परिसरबाट करिब ३०० मिटर दूरीमा रहेको कञ्चनबारीस्थित पार्किङ क्षेत्रमा राखिएको अवस्थामा हराएको पाइएको थियो।
ढुवानीकर्ताबाट सूचना प्राप्त भएपछि निगमका कर्मचारी, प्रहरी तथा ढुवानीकर्ताको संयुक्त टोलीले तत्काल खोजी अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा उक्त ट्यांकर निगमको डिपोबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा–८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको निगमले जनाएको छ।
जाँचका क्रममा ट्यांकरमा लोड गरिएको २० हजार लिटर पेट्रोलमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल भने सुरक्षित रूपमा निगमको भण्डारणमा राखिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ बमोजिम चोरी भएको परिमाणको दोब्बर बराबरको रकम सम्बन्धित ढुवानीकर्ताबाट असुल गरिसकिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने पेट्रोल चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र कानुनी कारबाहीका लागि प्रहरी परिचालित रहेको जनाइएको छ।















