ट्रम्प–रुटे भेटवार्ता : इरानविरुद्धको कदमको प्रशंसा, युरोपेली सहयोगीप्रति ट्रम्पको असन्तुष्टि

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो का महासचिव मार्क रुटे बीच बुधबार ह्वाइट हाउस मा भेटवार्ता भएको छ।भेटका क्रममा महासचिव रुटेले इरानको परमाणु कार्यक्रमबारे चिन्ता व्यक्त गर्दै इरानविरुद्ध ट्रम्प प्रशासनले चालेको कदम महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार इरान परमाणु क्षमता हासिल गर्ने निकै नजिक पुगेको थियो र उक्त क्षमता विश्व सुरक्षाका लागि गम्भीर खतरा बन्न सक्थ्यो।

रुटेले जी–७ का नेताहरूले समेत इरानको परमाणु क्षमतामा आएको कमजोरीलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै त्यसका लागि अमेरिकी कदमको प्रशंसा गरेका छन्। उनले केही छिटफुट घटनाका बाबजुद समग्रमा युरोपेली सहयोगी राष्ट्रहरू अमेरिका र नेटोसँग सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा राखे।

यद्यपि राष्ट्रपति ट्रम्पले भने युरोपेली सहयोगी राष्ट्रहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले आफूले अपेक्षा गरेजस्तो सहयोग र समर्थन नपाएको संकेत गर्दै सहयोगी राष्ट्रहरूले अझ स्पष्ट रूपमा अमेरिकासँग सहकार्यको प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्।

ट्रम्पले भेटवार्ताका क्रममा, “यदि मेरो ठाउँमा अरू कोही भएको भए आज यो बैठक नै सम्भव नहुन सक्थ्यो,” भन्दै युरोपेली साझेदारहरूको भूमिकाप्रति असन्तोष व्यक्त गरेका थिए। उनले सहयोगी राष्ट्रहरूले अमेरिकासँग अझ सक्रिय रूपमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए।

भेटवार्तामा इरानको परमाणु कार्यक्रम, ट्रान्स–एटलान्टिक सुरक्षा सहकार्य, नेटोको भूमिका तथा अमेरिका–युरोप सम्बन्धका समसामयिक विषयमा विस्तृत छलफल भएको बताइएको छ।