राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। केहीबेरअघि मतदान सकिएको हो।
निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा १ हजार २८९ मत खसेको छ। पदाधिकारीहरूको मतगणना केहीबेरमै सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसअघि केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको थियो। तर, धेरै प्रतिनिधि मतदान नगरी फर्किएपछि पदाधिकारी निर्वाचनमा मतदान गर्नेको संख्या उल्लेख्य रूपमा घटेको हो।
केन्द्रीय सदस्य निर्वाचनको तुलनामा १ हजार ६७० जना कम प्रतिनिधिले पदाधिकारी चयनका लागि मतदान गरेका छन्।
रास्वपाले यस महाधिवेशनबाट पाँच पदाधिकारी चयन गर्दै नेतृत्वलाई पूर्णता दिनेछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ गते चितवनबाट सुरु भएको थियो। प्रारम्भिक कार्यतालिकाभन्दा लम्बिएको महाधिवेशन आज पदाधिकारी निर्वाचनको नतिजासँगै समापन गर्ने तयारी गरिएको छ।















