जोसे क्यानालेको निर्णायक पेनाल्टी गोलसँगै पाराग्वेले विश्वकप इतिहासकै सबैभन्दा ठूलो र अप्रत्याशित जित दर्ता गरेको छ। चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पाराग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
अन्तिम ३२ अन्तर्गतको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा पाराग्वेले रोमाञ्चक जित निकाल्दै विश्व फुटबलमा नयाँ इतिहास रच्यो। निर्णायक गोल गरेपछि जोसे क्यानालेतर्फ पाराग्वेका खेलाडीहरू दौडिँदै पुगेका थिए भने समर्थकहरू हर्षका आँसुका साथ जितको उत्सवमा रमाएका थिए।
रंगशालामा उपस्थित हजारौँ पाराग्वेली समर्थकहरूले ‘भामोस’ को नारा लगाउँदै टोलीको ऐतिहासिक सफलताको स्वागत गरे। करिब दुई घण्टासम्म चलेको तनावपूर्ण प्रतिस्पर्धापछि पाराग्वेले आफूलाई कमजोर आँक्ने सबै अनुमानलाई गलत साबित गरेको हो।
छनोट चरणमा प्रति खेल औसत ०.७८ गोल मात्र गरेको पाराग्वेले सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट चरण खेलेको जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ। विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो अवसर पनि बनेको छ।
खेलमा जर्मनीको स्पष्ट दबदबा देखिएको थियो। जर्मनीले ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै २१ पटक प्रहार गरेको थियो भने पाराग्वेले सातवटा मात्र प्रयास गरेको थियो। तर ६३ वर्षीय अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको रणनीति र सशक्त रक्षापंक्तिले जर्मनीलाई निर्णायक गोल गर्न दिएन।
पेनाल्टी सुटआउटमा जर्मनीका काइ हाभर्ट्ज र निक वोल्टेमाडे गोल गर्न असफल भए। पाराग्वेले पनि दुई अवसर गुमाएको भए पनि अन्तिम प्रहारमा जोसे क्यानाले सफल भएपछि जित सुनिश्चित भयो।
जितपछि पाराग्वेका कप्तान तथा डिफेन्डर गुस्ताभो गोमेजले भावुक हुँदै भने, “हामी अहिले जे महसुस गरिरहेका छौँ, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मलाई मेरा साथीहरूमाथि गर्व छ। जर्मनीलाई थाहा थियो कि हामीसँग खेल्न सजिलो छैन। यो जित सम्पूर्ण पाराग्वेली जनतालाई समर्पित गर्दछौँ।”
दक्षिण अमेरिकी फुटबल विश्लेषक टिम भिकरीले पाराग्वेको प्रदर्शनको प्रशंसा गर्दै भने, “पाराग्वे कठिन परिस्थितिमा झन् बलियो बन्छ। उनीहरूले सधैँ आकर्षक फुटबल नखेले पनि संघर्ष गर्ने क्षमता अद्भुत छ। यही जुझारुपनले विश्व फुटबलको एक महारथीलाई घर फर्काएको छ।”
ऐतिहासिक सफलतापछि पाराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले देशभर सार्वजनिक बिदा घोषणा गरेका छन्। उनले यस उपलब्धिलाई “पाराग्वेको फुटबल इतिहासको महागाथा” भन्दै अब विश्वले पाराग्वेलाई नयाँ दृष्टिले चिन्ने बताएका छन्।
बीबीसी स्पोर्टसँग कुरा गर्दै १६ वर्षीया एक पाराग्वेली समर्थकले भनिन्, “हाम्रो देशका लागि यो जितको अर्थ धेरै ठूलो छ। धेरैले हामीलाई कमजोर ठानेका थिए, तर हामीले उनीहरूलाई गलत सावित गरिदियौँ। म आज जति खुसी कहिल्यै भएकी थिइनँ।”
अब पाराग्वेले शनिबार फिलाडेल्फियामा हुने क्वार्टरफाइनलमा फ्रान्स वा स्विडेनमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
जितपछि प्रशिक्षक गुस्ताभो अल्फारोले भने, “हामीमा केही कमजोरी हुन सक्छन्, तर हामीसँग कहिल्यै हार नमान्ने मुटु छ। यही साहसले हामीलाई आज यहाँसम्म ल्याएको हो।”













