कैलालीमा विद्यालयबाट हराएकी एक बालिका खोला किनारमा मृत भेटिएकी छन् । लम्की चुहा नगरपालिका ४ अमरपुरकी ६ वर्षीया मनिषा बिक बुधबार बिहान खोला किनारमा मृत अवस्थामा भेटिएकी हुन् । स्थानीय विकास कामीकी छोरी मनिषालाई मंगलबार बिहान ७ बजे घरका सदस्यले लम्की चुहा २ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयमा छाडेका थिए ।
उनी सोही विद्यालयमा पढ्थिन् । तर उनी बिहान १० बजेपछि बेपत्ता भएकी थिइन् । विद्यालय परिवारले घर परिवारलाई सम्पर्क गरी बुझ्दासमेत मनिषा घर नगएको भन्ने खुलेपछि उनी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरिएको थियो ।
विद्यालय समय पछि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । मंगलबार फेला पार्न नसकेपछि प्रहरीले बुधबार बिहानदेखि फेरि खोजी थालेको थियो ।
खोजीका क्रममा बिहान पौने ११ बजेतिर मनिषाको शव लम्की चुहा–५ चौरीस्थित रोरा खोलाको किनारमा भेटिएको हो । शव पोष्टमर्टमका लागि अस्पताल पठाइएको छ।















