पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता

Image

नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो ।

काउन्सिलले भोटाहिटीस्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा. दिपेन्द्र पाण्डेको तस्विर अनधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ । उक्त पोस्टमा उपाध्यायले ‘नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने…’ भन्दै निमित्त रजिष्ट्रार र काउन्सिलका अन्य पदाधिकारीविरुद्ध गालीगलौज गरेको दाबी गरिएको छ।

नेपाल मेडिकल काउन्सिलका अनुसार, काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोप्याथी औषधि लेख्ने र रेडियोलोजिष्टले गर्ने एमआरआई जस्ता विशेषज्ञ कार्यहरू गरेको उजुरी परेपछि काउन्सिलले छानबिन गरेको थियो । सो छानबिनका आधारमा दोषी देखिएका व्यक्तिहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको र उक्त विषय हाल अदालतमा समेत परीक्षण भएको छ ।

काउन्सिलले आफ्नो नियमित नियमनकारी र कानुनी प्रक्रिया अन्तर्गत गरेको कार्यलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको रूपमा चित्रण गर्दै साइबर बुलिङ गरेको उजुरीमा उल्लेख छ।

काउन्सिलले उपाध्यायको उक्त कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत रहेको उल्लेख गरेको छ । ‘सामाजिक सञ्जालको दुरुपयोग गरी आम नागरिकमाझ संस्थाप्रति भ्रम फैलाउने, घृणा वा द्वेष फैलाउने र पेसागत मर्यादामा गम्भीर आँच पुर्‍याउने कार्य भएकाले निजलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न अनुरोध गरिन्छ,’ उजुरी पत्रमा भनिएको छ।

प्रमाणका रूपमा उपाध्यायको फेसबुक पोस्टका स्क्रिनसटहरू र अपमानजनक कमेन्टहरू समेत प्रहरीलाई उपलब्ध गराएको काउन्सिलका एक अधिकारीले रातोपाटीलाई बताए।