गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले ठेक्का सम्झौतामा तोकिएको सर्तविपरीत कम रकम बुझाएर सम्झौता गरेको, झुटो विवरणका आधारमा टिप्पणी सदर गरेको तथा सर्तविपरीत बढी परिमाणमा गिट्टी र बालुवा उत्खनन गर्न अनुमति दिएको आरोपमा मुद्दा दर्ता गरेको हो।

मुद्दा दायर गरिएकामा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका सञ्चालक राधेश्याम शाह रहेका छन्।

आयोगले उनीहरूबाट जनही २ करोड ७५ लाख ६६ हजार रुपैयाँ बिगो असुल गर्न तथा सोहीअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।आयोगका अनुसार ठेक्का प्रक्रिया र नदीजन्य पदार्थ उत्खननका क्रममा कानुन तथा सम्झौताका सर्त उल्लंघन गरी राज्यलाई आर्थिक हानि पुर्‍याएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गरिएको हो।