नाटोका महासचिव मार्क रुट्टे ले रुस, चीन र उत्तर कोरिया बीच बढ्दो सहकार्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सदस्य राष्ट्रहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
नाटो शिखर सम्मेलनमा रुट्टेले यी देशहरू दिनप्रतिदिन अझ नजिकबाट सहकार्य गरिरहेको उल्लेख गर्दै उनीहरूको उद्देश्य हाम्रो हितमा छैन भन्ने चेतावनी दिएका हुन्। उनले रुसले आफ्नो राष्ट्रिय बजेटको ठूलो हिस्सा युद्ध तयारीमा खर्च गरिरहेको, चीनले पारदर्शिताविना सैन्य शक्ति र आणविक क्षमता विस्तार गरिरहेको तथा उत्तर कोरियाले रुसलाई सहयोग गरिरहेको बताए।
नाटोले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न ‘ट्रान्सएटलान्टिक रक्षा औद्योगिक क्रान्ति’ आवश्यक रहेको रुट्टेको भनाइ छ। उनले रक्षा उत्पादनलाई तीव्र बनाउँदै “कारखानाको गुञ्जायमान आवाज अब गर्जनमा बदलिनुपर्छ” भन्ने सन्देश दिएका छन्।
उनले नाटो सदस्य राष्ट्रहरूलाई रक्षा सामग्री खरिद प्रक्रियामा रहेका अनावश्यक नियम हटाउन, सीमापार सहकार्य बढाउन र उत्पादन क्षमता छिटो विस्तार गर्न आह्वान गरे। साथै उनले युक्रेन को ड्रोन प्रविधि र सैन्य नवप्रवर्तनको प्रशंसा गर्दै जापान लगायत साझेदार राष्ट्रहरूको योगदानको पनि सराहना गरे।
सन् २०२६ को नाटो शिखर सम्मेलन टर्कियको राजधानी अंकरामा हुँदैछ।













