केलियन एमबाप्पेले पाराग्वेकी सांसदसेलेस्टे अमरिल्लाको जातिवादी टिप्पणीप्रति कडा प्रतिक्रिया जनाउँदै उनलाई ‘घृणित’ र ‘आफ्नो पदका लागि पूर्ण रूपमा अयोग्य’ भएको बताएका छन्।
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्ससँग पाराग्वे पराजित भएपछि सांसद सेलेस्टे अमरिल्लाले सामाजिक सञ्जाल एक्समा एमबाप्पे लक्षित जातिवादी पोस्ट गरेकी थिइन्। पाराग्वेको लिबरल रेडिकल पार्टीकी सांसद अमरिल्लाले एमबाप्पेको अफ्रिकी पुर्ख्यौली पृष्ठभूमि र शिक्षालाई लक्षित गर्दै अपमानजनक तथा जातिवादी टिप्पणी गरेकी थिइन्।
त्यसको जवाफमा एमबाप्पेले लेखेका छन्, “श्रीमती सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि पूर्ण रूपमा अयोग्य हुनुहुन्छ। तपाईंले पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न। तपाईंको खुला जातिवाद र मूर्खताका कारण आज विश्वले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक मेहनतभन्दा तपाईंले देशको छविमा पुर्याएको क्षतिलाई बढी देखिरहेको छ। म यस्ता मानिसहरूलाई संसारभर घृणा र जातिवाद फैलाउने स्वतन्त्रता कहिल्यै दिने छैन।”
घटनापछि फ्रान्सेली फुटबल महासंघले अमरिल्लाको अभिव्यक्तिलाई ‘अत्यन्त घृणित र अस्वीकार्य’ भन्दै उनीविरुद्ध फौजदारी मुद्दा दर्ता गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ। फेडेरेसनले फ्रान्सेली राष्ट्रिय टोलीका खेलाडीमाथिको यस्तो टिप्पणी सम्पूर्ण फ्रान्समाथिको अपमान भएको पनि उल्लेख गरेको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि एमबाप्पेको समर्थन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “एमबाप्पेका लागि अर्को एउटा गोल—तर यसपटक जातिवादविरुद्ध। मेरो पूर्ण समर्थन छ। जब शब्दहरूले अपमान गर्छन्, तब हाम्रा मूल्य–मान्यताले जवाफ दिन्छन्।”
यसअघि पाराग्वेका पूर्वगोलरक्षक जोसे लुइस चिलाभर्टले पनि फ्रान्सेली टोलीलाई ‘अफ्रिकी टोली’ भनेर टिप्पणी गरेका थिए। त्यसबेला फ्रान्सेली फुटबल फेडेरेसनका अध्यक्ष फिलिप डायलोले चिलाभर्टलाई ‘फुटबलकै कलंक’ को संज्ञा दिएका थिए।
विवादका बीच पनि एमबाप्पेको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ। पाराग्वेविरुद्धको खेलमा निर्णायक पेनाल्टी गोल गर्दै उनले फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याए। अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ। एमबाप्पे यस विश्वकपमा ७ गोलसहित लियोनल मेस्सी र एर्लिंग हालान्डसँग संयुक्त रूपमा शीर्ष गोलकर्ताको सूचीमा रहेका छन्।














