भारतको विदेश मन्त्रालयले आइतबार ओमानको तट नजिकै कन्टेनर जहाज जीएफएस ग्यालेक्सीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।
मन्त्रालयका अनुसार जहाजमा सवार ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता छन्। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
भारतले ओमानस्थित आफ्नो दूतावासले ओमानी अधिकारीहरूसँग निरन्तर समन्वय गर्दै खोज तथा उद्धार अभियानलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
विदेश मन्त्रालयले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि भइरहेका लगातारका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल तनाव कम गर्न आग्रह गरेको छ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “यस क्षेत्रमा व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने गतिविधि तत्काल अन्त्य हुनुपर्छ। अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्बाध र सुरक्षित जलयातायात तथा व्यापार यथाशीघ्र पुनःस्थापित गरिनुपर्छ।”
हाल आक्रमण कसले गरेको भन्नेबारे आधिकारिक रूपमा पुष्टि भएको छैन। घटनाको थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।














