उच्च अदालत पाटनको न्यायसम्पादन योजना लक्ष्यभन्दा बढी

Image

उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/८३ मा पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यभन्दा बढी मुद्दा किनारा गरेको छ । उच्च अदालत पाटनले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उक्त जानकारी गराएको हो । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले ७१.०५ प्रतिशत मुद्दा छिन्न सफलता मिलेको जानकारी दिए । आर्थिक वर्ष २०८२/८३ का लागि लगतको ६६ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा ७१.०५ प्रतिशत मुद्दा छिन्न सफलता मिलेको हो । निर्धारित लक्ष्यभन्दा ८१६ थान बढी मुद्दा फर्छ्यौटमा सफलता मिलेको जनाइएको छ । 

न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनामा प्रत्येक आर्थिक वर्षमा कम्तीमा ६० प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य राखिएको छ । उक्त लक्ष्यभन्दा ११ प्रतिशत बढी सफलता हासिल भएको सूचकबाट देखिएको छ ।  आर्थिक वर्ष २०८१/८२ बाट पाँच हजार ६०९ मुद्दा जिम्मेवारी सरेर आएका थिए । आर्थिक वर्ष २०८२/८३ मा नयाँ मुद्दा १० हजार ५३० नयाँ मुद्दा दर्ता भएका थिए । 

मुद्दाको लगत १६ हजार १३९ मध्ये गत आर्थिक वर्षमा ११ हजार ४६९ वटा मुद्दा फर्छ्यौट भएको छ । “सामूहिक प्रयत्नबाट  सकारात्मक उपलब्धिहरू हासिल गर्न सफलता मिलेको छ,” मुख्यन्यायाधीश कुँवरले भने, “नयाँ दर्ता हुने मुद्दाको तुलनामा फर्छ्यौट संख्या बढी हुँदा सरेर जाने बक्यौता मुद्दाको संख्यामा पनि निकै कमि आएको छ,” कुँवरले भने । 

अदालतको इतिहासमै पहिलोपटक १८ महिना नाघेका मुद्दाहरूको संख्या शून्यमा झरेको अदालतले जनाएको छ । एक वर्ष नाघेका कुल मुद्दा अब ३५३ थान मात्र बाँकी छन् । एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान, तीन महिना नाघेका निवेदन १५ थान, ६ महिना नाघेका रिट निवेदन २५ थान र वाणिज्य इजलासमा सुनुवाइ हुने मुद्दा ७५ थानमा सीमित गर्न सफलता मिलेको जनाइएको छ ।