देशभरका ६ वटा राजमार्ग अवरूद्ध

Image

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका ६ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्यांकअनुसार बाढीपहिरो, डुबानलगायत कारणले ६ वटा राजमार्ग अवरूद्ध भएका हुन् ।

बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । उक्त सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

वर्षातका कारण हुनसक्ने बाढीपहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोकपथअन्तर्गत सञ्चालन हुने सवारीसाधन रातिको समयमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार, बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।  

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले इलाममा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए । “वर्षाका कारण गत असार २३ देखि इलामको इलाम नगरपालिका–९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ,” उनले भने ।

केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुंगासहितको पहरोका कारण अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए । गत असार २८ देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका–२, ढुंगेखोलास्थित सालझन्डी–ढोरपाटन सडकमाथिबाट ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको उनको भनाइ छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत असार ३१ गते भोटेकोसी गाउँपालिका–४, जिरोकिलाअन्तर्गत अरनिको राजमार्गमा सडकमाथिबाट पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । 

त्यस्तै, शुक्रबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ । उक्त खण्डमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । जैमिनी नगरपालिका–८, बेलबगर कालीगण्डकी करिडोर सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।