प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)देखि प्रतिपक्षी दलका नेताहरू तथा प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
सभामुख अर्यालले बुधबार प्रधानमन्त्री शाह र नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापासँग भेटवार्ता गरेका हुन्। त्यस्तै मंगलबार उनले विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए।
सभामुखको सचिवालयका अनुसार भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
यस्तै, मंगलबार नै सभामुख अर्यालले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई सहमतिका आधारमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।
सभामुखको पछिल्लो सक्रियतालाई संसदको नियमित कार्य सञ्चालन, दलहरूबीच समन्वय बढाउने तथा आगामी बैठकलाई सहज र उपलब्धिमूलक बनाउने प्रयासका रूपमा हेरिएको छ।















