सुनसरी घटनाबारे सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ अनुपस्थित

Image

सुनसरी घटनापछि विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षाको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। तर, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ भने सहभागी भएका छैनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल भइरहेको छ। सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि सरकारको व्यापक आलोचना भइरहेको छ भने तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी छ।

यस्तो संवेदनशील विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सरकारका प्रमुख जिम्मेवार नेतृत्व अनुपस्थित रहेपछि त्यसप्रति पनि विभिन्न कोणबाट चासो व्यक्त गरिएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव कायम गर्न र शान्ति–सुरक्षाको पक्षमा राजनीतिक तहबाट साझा सन्देश दिन आवश्यक ठानेर सर्वदलीय बैठक आयोजना गरिएको बताए।

उनले भने, “अत्यन्तै संवेदनशील र दुःखद घटनाले असहज अवस्था सिर्जना गरेको छ। प्रशासनिक प्रयाससँगै राजनीतिक दलहरूबाट पनि सामाजिक द्वेष न्यूनीकरण, सद्भाव कायम र शान्ति–सुरक्षाको पक्षमा संयुक्त सन्देश दिन आवश्यक भएकाले यो छलफल आयोजना गरिएको हो।”

बैठकबाट सुनसरी घटनाप्रति साझा धारणा, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा आगामी राजनीतिक पहलका विषयमा निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।