राष्ट्रपतिले प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग गरे छलफल

Image

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

छलफलका क्रममा प्रथम राष्ट्रपति डा. यादवले वर्तमान विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्याको समाधान गर्ने क्षमता र प्रतिबद्धता देखाउनुपर्ने धारणा राखे ।

राष्ट्रपति कार्यालयका अनुसार भेटवार्तामा तराई–मधेसमा शान्ति, सद्भाव र आपसी विश्वास कायम गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।