भदौ २४ घटनाको छानबिन आयोग गठन हुन्छ : सरकारका प्रवक्ता पोखरेल

Image

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले भदौ २४ गते भएको घटनाको छानबिन गर्न आयोग गठन गर्ने निर्णय राजनीतिक तहबाट भइसकेको बताएका छन्।

मंगलबार आयोजित पत्रकारसँगको संवादमा मन्त्री पोखरेलले आयोग गठनको विषय सरकारले नछोडेको स्पष्ट पार्दै यसको प्राविधिक प्रक्रिया टुंगिएपछि विस्तृत जानकारी सार्वजनिक गरिने बताए।

उनले भने, “२४ गतेको घटनाको छानबिनका लागि आयोग बनाउने विषयमा राजनीतिक तहबाट निर्णय भइसकेको छ। कस्तो आयोग बन्छ र कसरी काम गर्छ भन्ने प्राविधिक विषय पनि स्पष्ट भएपछि अर्को भेटमा सबै जानकारी दिन सकिन्छ।”

भदौ २४ को घटनापछि सरकारले एक साताभित्र छानबिन आयोग गठन गर्ने जनाएको थियो। तर, चार महिना बितिसक्दा पनि आयोग गठन हुन नसकेको विषयमा सञ्चारकर्मीले प्रश्न उठाएका थिए।

जवाफमा मन्त्री पोखरेलले आयोग गठनको राजनीतिक निर्णय भइसकेको दोहोर्याउँदै आवश्यक प्राविधिक तयारी पूरा भएपछि आयोग गठन हुने बताएका छन्।