नेकपा सांसद मल्लको व्यंग्य- सरकारले पासपोर्ट घरसम्मै पुर्‍याउँछु भन्थ्यो तर लाइन घरसम्म पुगेको छ

Image

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले ‘नागरिकका घरघरमै पासपोर्ट पुर्‍याउने’ सरकारको घोषणाविपरीत पासपोर्ट लिनेको लामो लाइन लागेको भन्दै व्यंग्य गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सरकार पासपोर्ट घरसम्मै पुर्‍याउँछु भन्दै थियो, तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छ। त्यस्तै लाइन सरकारी सेवा प्रदायक अन्य कार्यालयमा लागेको छ।’

मल्लले घरघरमा खाना पकाउने एलपी ग्यास र किसानले रासायनिक मल नपाएको विषय पनि संसद्मा उठाए।

‘उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव कायमै छ। महँगीका कारण नागरिकले सास्ती व्यहोरिरहेका छन्,’ उनले भने।

सरकारले चिकित्सा शिक्षा आयोगका पदाधिकारी बर्खास्त गरेको र नयाँ नियुक्ति नगरेका कारण लामो समयदेखि चिकित्सा शिक्षाको प्रवेश परीक्षासहित सबै परीक्षामा अनावश्यक ढिलाइ भएको भन्दै आयोगमा तत्काल रिक्त निर्देशकहरू नियुक्त गरी परीक्षाको वातावरण बनाउन उनले सरकारसँग माग गरे।