हेटौँडामा बोरामा हालेर फालेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार शुक्रबार दिउँसो स्थानीय बासिन्दाले च्याउ टिप्न जंगल गएको क्रममा सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको डीएसपी काफ्लेले बताए।
उनका अनुसार बोरा खोलेर हेर्दा अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी जस्तो देखिने महिलाको शव फेला परेको छ। मृतकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।
कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए।















