प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान मोदीलाई शुभकामना दिएका थिए। उनले सामाजिक सञ्जाल एक्समार्फत दिएको शुभकामना सन्देशमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले भनेका थिए, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्।’
त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई धन्यवाद दिएका छन्। उनले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
मोदीले भनेका छन्, ‘हामी हाम्रा देशका जनताको आपसी समृद्धि र कल्याणका लागि भारत र नेपालबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्न प्रतिबद्ध छौँ।’ भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
Thank you Prime Minister Balendra Shah for your warm greetings.
— Narendra Modi (@narendramodi) August 15, 2026
We are committed to working together to further strengthen the multifaceted and age-old civilizational ties between India and Nepal for the mutual prosperity and well-being of the people of our nations. @PM_nepal_ https://t.co/VU6mlTKkCT















