डेमोक्रयाटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) यतिबेला इबोला महामारीसँग गम्भीर रूपमा जुधिरहेको छ ।
सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार कंगोमा इबोला भाइरसका कारण हालसम्म दुई हजार ३२५ जनाको मृत्यु भइसकेको छ । राजधानी किन्सासाबाट सार्वजनिक गरिएको विवरणमा इबोला संक्रमितको संख्या चार हजार ९४५ पुगेको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघले कंगोमा इबोलाको तीव्र फैलावटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका अनुसार इबोला अहिलेसम्मकै तीव्र गतिमा फैलिरहेको र औसतमा हरेक ३० मिनेटमा एकजनाको ज्यान गइरहेको बताइएको छ ।
मध्य अफ्रिकी मुलुक कंगो यसअघि सन् २०१८ देखि २०२० सम्म पनि इबोलाको ठूलो चपेटामा परेको थियो । संक्रमित जनावरको मासु तथा संक्रमित मानिसको रगत, र्याल, पसिना र पिसाबजस्ता शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने यो भाइरसका कारण त्यतिबेला दुई हजार २९९ जनाको मृत्यु भएको थियो ।
‘डीआरसी’ नामले समेत चिनिने यस देशमा इबोला फैलिएको यो १७औँ पटक हो । विश्व स्वास्थ्य संगठनले आगामी तीन महिनाभित्र इबोलाको फैलावट नियन्त्रणमा लिन सकिने आशा व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता निकायका अनुसार विश्वभरका देशहरूले इबोला नियन्त्रण तथा रोकथामका लागि हालसम्म ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराइसकेका छन् ।














