दुर्गा प्रसाईंसँग वार्ताका लागि सरकारले बनायो चार सदस्यीय टोली

Image

राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेपछि सरकारले वार्तामार्फत समस्या समाधानको पहल अघि बढाएको जनाएको छ।

प्रसाईंले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा समेत आफ्ना मागहरू प्रस्तुत गरेका थिए। सोही विषयमा वार्ता गरी समाधान खोज्न सरकारका तर्फबाट टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।