ईयूकी राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाइ भेट

Image

नेपालका निम्ति युरोपेली संघ (ईयू)की राजदूत भेरोनिक लोरेन्जोले मंगलबार (भदौ २) परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–ईयू सम्बन्ध, आपसी हित तथा चासोका विभिन्न विषयमा छलफल भएको थियो । 

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन, इमानदारी र सहयोगका निम्ति धन्यवाद दिए । उनले नेपाल र परराष्ट्र मन्त्रालयप्रति लोरेन्जोले देखाएको सहयोगको प्रशंसा गरे ।

भेटमा राजदूत लोरेन्जोले ईयू नेपालसँग हिमाल तथा पानीसम्बन्धी एजेन्डामा सहकार्य गर्न इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले हिमालसम्बन्धी विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । सगरमाथा संवादको दोस्रो संस्करण आउँदो वर्ष आयोजना हुने उनले जानकारी गराए ।

राजदूत लोरेन्जोले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासनका क्षेत्रमा नेपालसँग सहकार्य गर्ने ईयूको योजना रहेको बताइन् । मन्त्री खनालले उक्त प्रस्तावको स्वागत गर्दै थप अध्ययन तथा विचारका निम्ति विस्तृत जानकारी उपलब्ध गराउन आग्रह गरेका मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले सुरक्षित र मर्यादित आप्रवासन नेपालका निम्ति प्राथमिकताको विषय रहेको उल्लेख गरे । विदेशमा रहेका नेपाली डायस्पोराको संरक्षणप्रति सरकार गम्भीर रहेको समेत उनले बताए ।

नेपाल अल्पविकसित मुलुक (एलडीसी)बाट स्तरोन्नति हुने प्रक्रियामा देखिएको स्थगनका विषयमा समेत त्यस अवसरमा छलफल भएको थियो । राजदूत लोरेन्जोले नेपालले ठोस कार्ययोजना र आवश्यक विवरण प्रस्तुत गरेपछि ईयूले सहयोग गर्ने बताइन् ।

नेपाली कला, संस्कृति तथा सभ्यताको प्रवद्र्धन, खुलापन र अभिव्यक्ति स्वतन्त्रताका विषयमा समेत छलफल भएको थियो । राजदूत लोरेन्जोले नेवा कला प्रदर्शनीसम्बन्धी कार्यक्रमका निम्ति परराष्ट्र मन्त्रालयको सहयोगका लागि आग्रह गरिन् ।

जवाफमा मन्त्री खनालले नेपालको सांस्कृतिक सम्पदाको प्रवद्र्धनका निम्ति सरकारको निरन्तर सहयोग र प्रतिबद्धता रहने बताएका मन्त्रालयले जनाएको छ ।